आधारभूमि संवाददाता
काठमाडौँ, १५ साउन
नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ६ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३०४ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १३ हजार २०१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।
थप २२७ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २२७ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १४ हजार २४८ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।