आधारभूमि संवाददाता
काठमाडौँ, १२ साउन
काठमाडौंमा थप ६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका ३ र ललितपुरका ३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यसतै क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १६ हजार ३७९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १३ हजार ७५४ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा पाँचथर, भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।