ढाका, ११ साउन /सिन्ह्वा
बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भन्नुभयो, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।
बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।
अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उहाँले बताउनुभयो ।
अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।