neapl investment mega bank
  • गृहपृष्ठ
  • महिला हिंसा रोक्न सरकार उदासिन, दोषीलाई उन्मुक्ति दिए आन्दोलनमा उत्रिने चेतावनी

महिला हिंसा रोक्न सरकार उदासिन, दोषीलाई उन्मुक्ति दिए आन्दोलनमा उत्रिने चेतावनी

Jul 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,११ साउन

प्रेम संवन्धलाई निहुँ बनाई राजधानीमै एक युवतिमाथि एसिड आक्रमण भयो ।

सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाएर रिहा गर्ने फैसला गर्यो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दापनि सरकारले दोषीलाई कारबाही गर्न सकेको छैन ।

हिट एण्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरियो ।

यी घटना त महिला विरुद्ध भएका जधन्य अपराधका घटना हुन् । यी घटनाले महिला हिंसा मात्र नभइ हत्याका उदेश्यले गरिएका नियोजित अपराध हुन् । यस्त घटनामा सरकारले तत्काल छानविन गरी दोषीलाई कारवाही गर्नुको साटो दोष प्रमाणित भएकालाई समेत उन्मूक्ति दिनु दूर्भाग्य हो ।

जसको कारण पछिल्लो समय महिला विरुद्धका हिंसाले भयावह रुप लिंदै छ । परिवारका सदस्यले नै हत्या गरेको तथा जिउँदै जलाएका खवरहरु आइरहेका छन् । कोराना भाइरस नियन्त्रणको लागि लकडाउन सरकारले गरेको अवधिमा पनि महिला हिंसा बढिरह्यो ।

गैरसरकारी संस्था महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा लकडाउनको समयमा ५१ वटा जिल्लाहरुमा ६२४ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको जनाएको छ ।

ओरेकका अनुसार घरेलु हिंसाका घटनामध्ये २२९ वटा शारीरिक हिंसा र ८३ वटा मानसिक हिंसाका घटना रहेका छन् । जुन घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा बुहारीमाथि दैनिक रुपमा शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ ।

ओरेकले बन्दावन्दीको समयमा संकलन भएका हिंसाका घटनाहरु मध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात ३७९ जना महिलाहरु आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट हिंसा भएको तथ्याँक रहेको जनाएको छ ।

महिला विरुद्ध भएका हिंसा र त्यसमा सरकारको उदासिनताको सर्वत्र विरोध भैरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै घट्नामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।

उनले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने माग गरिन् । साथै आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाह गरेको फैसलाप्रति उनले आपत्ति जनाईन् ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदापनि महिलामाथि हिंसाका घट्ना नरोकिएको दुःख व्यक्त गरिन् ।

यसैगरी नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताइन् ।

महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नभएका कारण उनीहरु विरुद्ध परिवार र समाजका सदस्यले हिंसा गर्ने गरेका छन् ।

महिलालाई शिक्षाको समान अवसर दिने तथा आय आर्जन र रोजगारीका व्यवस्था गर्ने हो भने पनि महिला सशक्त हुनेथिए र यस्ता अपराध रोकिने थिए ।

महिलालाई शिक्षा र सम्पत्तिको अधिकार दिलाउन सरकारले पहल गर्नुपर्ने खाँचो छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi