म्याग्दी, १३ कात्तिक (रासस)
–सन्तोष गौतम
अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ ।
अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताउनुभयो । समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन ।
हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताउनुहुन्छ । “ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए”, उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन ।” भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन । न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताउनुभयो । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्”, उहाँले भन्नुभयो, “यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।”
परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाउनुभएको छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलोपटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो ।
यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो । निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन् ।
पदमार्ग पर्यटक हिँड्नलाई अझै योग्य भइसकेको छैन । स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । तालको गहिराइको मापन हुनसकेको छैन । तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउनुहुन्छ ।