neapl investment mega bank

लकडाउन खुल्यो, बोलबम मेला खुलेन

Jul 26th, 2020

चितवन, ११ साउन /रासस

कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रमण नरोकिएकाले मेला स्थगन गरिएको हो । मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजन आउने गर्दछन् । अघिल्ला वर्ष साउन महिनाका सोमबारमा पाँच लाख हाराहारी भक्तजन आउने गरेका उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “हामीले स्थानीय प्रशासनसँग छलफल गरेर उहाँहरुको सुझावअनुसार नै बोलबम मेला स्थगन गरेका हौँ ।” कोरोनाको सङ्क्रमण घटेमा अबको ठूलो मेला हरिबोधिनी एकादशी र सतबिज छर्ने मेला मात्र हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “सञ्चारमाध्यममार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्य छौँ ।” पछिल्ला वर्षमा बोलबम मेला भर्न आउनेको सङ्ख्या बढ्दै गएको थियो । कतिपय खाली खुट्टामा देवघाटसम्म मेला भर्न आउने गरेका उहाँले जानकारी दिनुभयो । पवित्र तीर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थलमा पर्दछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi