neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति विकास बैंक लिमिटेडको १२ औं वार्षिकोत्सव सम्पन्न

ज्योति विकास बैंक लिमिटेडको १२ औं वार्षिकोत्सव सम्पन्न

Jul 24th, 2020

काठमाडौ, साउन ९

ज्योति विकास बैंकले शुक्रबारको दिन स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए ।
साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराई र संस्थापक शेयरधनी हरि प्रसादको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन ्।

सोही समारोहमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि आठ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन । अध्यक्ष खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए ।

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१ औं एटिएमको पनि डिजिटल उद्घाट गरेका थिए । वार्षिकोत्सवकै अवसरमा ग्राहकवर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि सेवा” सुचारु गरेको छ । सो सेवा बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ , सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृतचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।

हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।