neapl investment mega bank
  • गृहपृष्ठ
  • बलेनीको धमिलो पानी पिउन बाध्य छन् च्युरिबोटवासी

बलेनीको धमिलो पानी पिउन बाध्य छन् च्युरिबोटवासी

Jul 24th, 2020

गलेश्वर, ९ साउन /रासस

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ च्युरिबोटमा गत मङ्गलबार राति आएको पहिरोले पाइप बगाएपछि स्थानीय ४६ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि त्यहाँका स्थानीय तीन दिनदेखि खोला तथा बलेनीको धमिलो पानी खान बाध्य भएका दाजुङखोला लघु जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षापछि गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो । सो खानेपानी आयोजनाबाट विद्यालय, २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थायीरुपमा पिउँदै आएका छन् । च्युरिबोटका घुइलबोट, नालबाङ, दास्बाङ, पहिरोघर, बिसौनाबोट, बरनाचे बस्तीलगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ ।

सो खानेपानीको आयोजना विदेशी संस्था ब्रिटिस बेलफेयरले २०५६ सालमा सहयोगमा निर्माण गरिएको हो । २०७४ मा भू–संरक्षणको रु ७० हजार सहयोग, स्थानीयको रु २५ हजार र श्रमदानमा मर्मत गरिएको थियो ।

बाढीपहिरो पीडितलाई सहयोग

गत असार २५ गते आएको भीषण बाढी र पहिरोबाट विस्थापित भएका एक हजारभन्दा बढीलाई नेपाली काँग्रेस म्याग्दीका युवा नेताहरुले निजी खर्चमा रु साढे सात लाखभन्दा बढीको जिन्सी सहयोग गरेका छन् ।

बाढीपहिरोका कारण विस्थापित भएका र आफन्तलाई गुमाएका धौलागिरि गाउँपालिका–६ मराङ, वडा नं ७ धारापानी, मालिका गाउँपालिका–७ बिम र रघुगङ्गा गाउँपालिका–८, कुइनेमङ्गलेका एक हजार बढी प्रभावितलाई हेलिकप्टरमार्फत बिहीबार राहत वितरण गरिएको थियो ।

बालबालिका, महिला र वृद्धवृद्धालाई रु साढे सात लाखभन्दा बढीका कपडा, चप्पल, गम्बुट, सुत्ने म्याटेसलगायतका जिन्सी सामग्री सहयोग गरेको काँग्रेस म्याग्दीका जिल्ला कार्यसमितिका सदस्य केवी भण्डारीले जानकारी दिनुभयो । बाढीपहिरोबाट विस्थापित भएकालाई खाद्यान्न सामग्री पर्याप्त भए पनि लत्ताकपडा, सुत्ने विस्तारको अभाव भएको जानकारी पाएलगत्तै सदस्य भण्डारी, ओम छन्त्याल, रघुगङ्गा–८ कुइनेमङ्गलेका अध्यक्ष गमान छन्त्याल, बेनी नगर सभापति अनोद श्रेष्ठ, समाजसेवी मन्दिरा श्रेष्ठ र राष्ट्रिय मगर सङ्घ म्याग्दीका अध्यक्ष हीराबहादुर पुनको निजी लगानीमा एयर डाइनेष्ट्रिक हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमै पुगेर सामग्री हस्तान्तरण गरिएको बेनपा–८ का वडासदस्यसमेत रहनुभएका पुनले बताउनुभयो ।

उहाँका अनुसार हेलिकप्टरको खर्चबाहेक उक्त रकम बराबरको सामग्री वितरण गरिएको जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा काँग्रेसकां युवा नेता भण्डारीले म्याग्देली जनताको सुखःदुखमा पार्टीसँगै व्यक्तिगत खर्चमा समेत समस्या समाधानमा अग्रसर हुने उल्लेखगर्नुभयो ।

सहयोग सामग्री वडाका जनप्रतिनिधि, आमा समूहका प्रतिनिधि, युवा क्लबलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । “घर भत्कियो, बस्ती छोड्नुभयो, परिवारका सदस्य गुमाउनुभएको छ, तपाईहरुको समस्यालाई हामीले समाधानको हरेक उपाय गर्नेछौँ”, अर्का युवा नेता छन्त्यालले भन्नुभयो ।

विस्थापितले अति आवश्यक सहयोग उपलब्ध भएकोमा धन्यवाद दिएका थिए । मराङका विभिन्न बस्तीबाट विस्थापित भएकालाई आवश्यकताका आधारमा सहयोग गर्ने र थप सहयोग आवश्यकता परेमा समन्वय गर्नेसमेत टोलीले अनुरोध गरेको छ ।

पश्चिम म्याग्दी जोड्ने सडक सञ्जाल अवरुद्ध भएपछि काँग्रेसका नेताले हेलिकप्टरबाटै सामान ढुवानी गरेका थिए । गत असार २५ गतेको बाढी पहिरोबाट पश्चिम म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi