भक्तपुर, ११ कात्तिक (रासस)
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ भन्नुुभयो ।
उहाँले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उहाँले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गर्नुभयो । पार्टीका जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाउनुभयो ।
उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमलीलगायतले आसन्न उपनिर्वाचनमा जित काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ता जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो ।