neapl investment mega bank
  • गृहपृष्ठ
  • वर्षाका कारण सडक अवरोध तथा विभिन्न धनमाल क्षति

वर्षाका कारण सडक अवरोध तथा विभिन्न धनमाल क्षति

Jul 21st, 2020

काठमाडौं, ६ साउन

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अबरोध तथा विभिन्न धनमाल क्षति भएको छ ।

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित बागमती नदीमा सोमवार दिउँसो पानीको बहाव बढेर किनारामा रहेको सुकुम्बासी बस्तीमा पानी पसेको छ । उक्त स्थानमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाटबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाली सेना समेतसँग समन्वय गरी सो स्थानमा बसोवास गर्ने करिब ४ सय ५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ ।

बारा, कोल्हबी नगरपालिका-९ पडरीस्थित सिम्रौनगढ तामागढी सडकको भित्री बाटो निर्माणाधिन पक्की पुलको छेउमा ३ वटा ह्यूम पाईप राखी डाईभर्सन बाटो बनाएकोमा बर्षाको कारण माटो बगाई सोमवार साँझबाट सडक अवरोध भएको छ ।

यसैगरी बारा पचरौता नगरपालिका-७ बेनैली बस्ने रामयाद बिन तथा पचरौता नगरपालिका(१ बस्ने रामजि ठाकुर, झगरु महतो र जगु माझि मुसहर समेतको घर अविरल बर्षाको कारण भत्किँदा तीनै जनाको गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यसैगरी, बारा सुवर्ण गाउँपालिका-२ मा अबिरल बर्षाको कारण सोही गाउँपालिका-२ न्यकाटोला, सोही गाउँपालिका-५ औरैया टोल र सोही गाउँपालिका-७ बडकिफुलवरिया बस्ने १८ जनाको कच्ची घर सोमबार दिउँसो भत्किँदा आंशिक क्षति भएको छ ।

नुवाकोट, किस्पाङ गाउँपालिका-५ सिम्लेस्थित त्रिशुली नदीको बहाव बढेर सोमबार राति माथिल्लो त्रिशुली थ्रिए हाइड्रोपावरको कामदार बस्ने ४ वटा टहरा बगाई क्षति भएको छ ।

सप्तरी, तिलाठीकोईलाडी गाउँपालिका-१ स्थित रहेको खाडोखोलामा सोमबार दिउँसो पानीको बहाव बढी सोही ठाउँस्थित रहेको बेलही गाँउमा पानी पसी ७ घर डुवानमा परेका छन् ।

मुस्ताङ, अविरल बर्षाको कारण गाडु खोलामा सोमवार साँझ आएको बाढीले थासाङ गाउँपालिका-४ घाँसा बस्ने रामलाल बिक र राजन गौचनको गोठ बगाएको छ । पहिरोका कारण जोखिममा रहेका सोही ठाउँ बस्ने १९ घर परिवार तथा सोही गाउँपालिका-२ कोबाङ र खन्तिका १२ घर परिवारलाई समेत सुरक्षित स्थानमा राखिएको छ । यसैगरी थासाङ गाउँपालिका-४ स्थित बेनी जोमसोम सडकखण्डमा छाकताङ खोलाको निर्माणाधिन पुल सोमबार साँझ आएको बाढीले बगाएको छ ।

रौतहट, गरुडा नगरपालिका-५ शिवनगरस्थितमा झाजखोलामा सोमबार साँझ आएको बाढीले सोही ठाउँमा रहेका २३ वटा घरमा पानी पसी डुबानमा परेका छन् । पीडितहरुलाई आफन्त तथा छरछिमेकीको घरमा सुरक्षित राखिएको छ । यसैगरी परोहा नगरपालिका-४ पोखरीया टोल बस्ने जोगिन्द्र ठाकुरको खपडाले छाएको घर सोमवार राति आएको अविरल वर्षाको कारण भत्किएर आंशिक क्षति भएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ पानी धारा बस्ने बिष्णु प्रसाद श्रेष्ठको दुई तले पक्की घर र कुमार श्रेष्ठको दुई तले पक्की घर सोमबार साँझ त्रिशुली नदीले बगाउँदा क्षति भएको छ । साथै सोही ठाउँ बस्ने दिल कुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मान बहादुर बिक र कुमार बिकको घर समेत जोखिममा रहेका छन् ।

त्यसैगरी चितवन भरतपुर महानगरपालिका-२६ भगडीस्थितमा सोमबार साँझ नारायणी नदीको पानी बस्तीमा पस्दा करिब ३० वटा घर जोखिममा रहेका छन् । पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

त्यसैगरी चितवन भरतपुर महानगरपालिका-१६ झन्झनेस्थित नारायणी नदीमा आएको बाढिका कारण नदी छेउछाउमा रहेका करिब १० वटा घर सोमबार दिउँसो डुवानमा परेका छन् । बाढिका कारण सोही महानगरपालिका-३ स्थित हाम्रो घर संस्था (सडक बालबालिका पुनस्थापना केन्द्र) समेत जोखिममा रहेको छ । उक्त केन्द्रमा रहेका ३० जना बालबालिकाहरु सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको छ ।

नवलपरासी(वर्दघाट सुस्ता पुर्व), बिनयी त्रिबेणी गाउँपालिका-४ स्थित भित्री सडकखण्डमा लु।२ च ६१७१ नम्बरको पिकअप गाडीलाई सोमबार साँझ सोही स्थानमा रहेको खहरे खोलामा आएको बाढीले बगाएको छ ।

यसैगरी, नवलपरासी(वर्दघाट सुस्ता पुर्व) सोमबार बिहानदेखि परेको अविरल वर्षाका कारण गैंडाकोट नगरपालिका-२ स्थित नारायणी नदीको बहाब बढ्न गई बोटे टोलमा रहेको करिब ४५ वटा घरहरुमा पूर्ण रुपमा पानी पसेको छ । सोही ठाउँ बस्ने १ सय १० जना पीडित परिवारहरूलाई स्थानीयसँगको सहकार्यमा सोही ठाउँस्थित अक्सफोर्ड कलेज र हाउस अफ गड चर्चमा सारिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने ६० वर्षीया सुकमाया योन्जनको घर सोमवार राति आएको अविरल वर्षाको कारण भत्किँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित हनुमन्ते खोलामा सोमबार साँझ आएको बाढीका कारण करिब ३ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ ।

पर्वत, कुश्मा नगरपालिका-२ नयाँपुलस्थित पोखरा-बागलुङ सडक खण्डमा सोमबार राति आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।

सबै स्थानहरुमा तत्काल खटिएका स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi