neapl investment mega bank
  • गृहपृष्ठ
  • केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Jul 20th, 2020

–देवराज सुवेदी
सिन्धुपाल्चोक, ५ साउन/रासस

तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोशी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताउनुभयो ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । खासा क्षेत्रमा केही दिनदेखि उच्च वर्षा भइरहेकाले भोटेकोशी नदीको साथै स्थानीय खोल्सीमा बहाव बढेको समेत जनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । ‘‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने समकक्षीले बताएपछि स्थानीयवासीलाई सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले बताउनुभयो ।

‘‘सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले तालको तल्लोतटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेका छौँ’’, प्रशासकीय अधिकृत सुनिता पहरीले भन्नुभयो । स्थानीय तहले समेत नदीतटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् ।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डसमेत तहसनहस बनाएको थियो । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi