neapl investment mega bank
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

Jul 19th, 2020

कास्की, ४ साउन

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार आयोजित एक समारोहवीच पोखरा महानगरपालिका-७ मुस्ताङ चोकस्थित गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको छ ।

उद्‍घटान समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश अस्पतालबाट दिईने सेवा सुविधालाई थप बिशिष्टिकृत गरी आगामी दिनहरुमा साधन सम्पन्न अस्पताल निर्माण गर्नको लागि बजेट व्यवस्थापन लगायतका बिषयमा पहल गरिने बताउनुभयो । अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रदेश प्रहरी अस्पताल पोखराका प्रहरी नायव उपरीक्षक डा.नर्मन लामिछानेले स्वागत मन्तव्य सहित अस्पतालका सेवा सुविधा सम्बन्धमा जानकारी दिनुभएको थियो ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरन्जन कुमार सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रहरी कर्मचारीहरु एवम् उनीहरुको सन्तती र अमर प्रहरी परिवार लगायत आम नागरिकहरुलाई प्रभावकारी रुपमा सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कुल २८ लाख २३ हजार ४ सय ४७ रुपैयाँ ५९ पैसा लागतमा उक्त अस्पताल निर्माण भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा पोखरास्थित प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी अधिकृतहरु, पूर्व प्रहरी संघका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi