आधारभूमि संवाददाता
काठमाडौं, साउन १
गत वर्ष बाणिज्य बैंकहरु तरलता अभावको समस्या अर्थात लगानी गर्नका लागि उनिहरुसँग आवश्यक रकम थिएन ।तर अहिले भने बैंकहरु अधिक तरलताको समस्याबाट गुज्रेका छन् ।
असारको सुरुवातमा बाणिज्य बैंकहरुसँग जम्मा ३३ अर्ब मात्रै लगानीयोग्य रकम थियो । तर एक वर्षपछिको अवस्था हेर्ने हो भने ठ्याक्कै उल्टो देखिन्छ । अहिले बैंकमा झन्डै १ खर्ब ७५ अर्ब अधिक तरलता छ ।
बैंकमा ऋण लिन आउने भन्दा पनि रकम जम्मा गर्न आउनेहरु बढि छन् । लकडाउन खुलेपनि ब्यापार व्यवसाय खासै हुन सकेको छैन । जसका कारण व्यवसाय गर्नका लागि ऋणको माग नै हुन सकेको छैन । तर, विदेशबाट कामदारले पठाउने रकम निरन्तर आइरहेको छ भने सरकारी खर्च पनि भएका कारण बैंक तथा वित्त सस्थामा रकम थुप्रन पुगेको हो । अझ लकडाउन पछि उपभोग बढ्न नसकेका कारण आयातका लागि बाहिरिने रकम पनि बैंकमै थुप्रिएको छ ।
चैत मसान्त यता बैंकमा १ खर्ब ९९ अर्ब बचत बढेको छ । यता ऋण पनि ३ अर्ब फिर्ता भएको छ ।
बैंकहरुले बचतका रुपमा संकलन गरेको रकमको ८० प्रतिशत मात्रै कर्जाका रुपमा लगानी गर्न सक्छन् । अर्थात बैंकहरुले कर्जा पुँजी निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत भन्दा माथि लान पाउँदैनन् । तर अहिले बैंकहरुको सिसिडी रेसियो औसतमा ७० प्रतिशतमा रहेको देखिन्छ ।
यसरी हेर्दा बैंकहरु अहिले झन्डै ३ खर्ब बराबरको लगानी गर्न सक्ने स्थितीमा छन् । लकडाउन अघि भन्दा अहिले बैंकहरुले दिने निक्षेपको ब्याजमा झन्डै एक प्रतिशत कमि आएको छ । तर कर्जामा भने राष्ट्र बैंकले नै किस्ता र ब्याज चैत मसान्त सम्म बुझाए १० प्रतिशत र असार मसान्तसम्म तिरे २ प्रतिशत छुट दिने घोषणा गरेकाले बैंकहरुले ब्याज घटाएका छैनन्। तरलता सहज भएपछि बैंकर्सहरु बिच ब्याजदरका बिषयमा भएको भद्र सहमति पनि खारेज गरिएको छ । राष्ट्र बैंक भने नयाँ आर्थिक वर्ष सुरु भएसँगै व्यवसायीक क्रियाकलाप सुचारु हुने र अधिक तरलताको समस्या हट्ने बताउँछ ।
लकडाउन पछि कैयन व्यवसायीहरु पलायन भएका छन् भने केहि व्यवसाय नै बन्द गर्ने चरणमा रहेका छन् । बन्द गर्ने योजनामा रहेका व्यवसायीलाई पुन सञ्चालनमा ल्याउने वातावरण तयार नगर्ने र नयाँ लगानीलाई पनि आकर्षित नगर्ने हो भने आगामी दिनमा यस्तो अधिक तरलताको समस्या झनै बढेर जानसक्छ ।