आधारभूमि संवाददाता
काठमाडौं,असार ३०
प्रमाणपत्र धितो राखेर ऋण अहिलेसम्म जम्मा ५९ जनाले मात्रै पाएका पाएका छन् । राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेसँगै यस्तो कर्जा दिने बाटो खुला भएको भएपनि अहिलेसम्म प्रमाणपत्र धितो राखेर न्युन संख्याले मात्रै ऋण पाएको छ ।
१९ महिनामा यस्तो कर्जा भने ५९ जनाले मात्रै उपयोग गरेका छन् । यस्तो कर्जा प्रवाह गर्दा जोखिम हुदैन । किनकी बैंकहरुको यस्तो कर्जामा बिमा कम्पनीहरुले बिमा गरिदिएका हुन्छन् । अझ ऋणको मात्र नभएर आयोजनाको पनि बिमा सुरक्षण छ ।
शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गर्न कम्तीमा स्नातक तह पास गरेको, ४० वर्ष ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको भए सो संस्था नेपाली कुनै एक विश्वविद्यालयको समकक्षता रहेको, घरेलु तथा साना उद्योग कार्यालय र समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत सरकारी निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृति भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको हुनुपर्छ ।
धेरैभन्दा धेरैले ब्याज अनुदानको सहुलियत ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कृषिबाहेकका सहुलियत कर्जामा सीमा (संख्या) तोकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले पाँच सय, विकास बैंकले दुई सय र वित्त कम्पनीले एक सय वटा कृषिबाहेकका सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले ०७७ असारसम्म तोकिएको सीमा पूरा गर्नुपर्छ । सरकारको निर्देशनमा राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार कर्जासहित नौ प्रकारका सहुलियत दरका कर्जा कार्यक्रम ल्याएको हो । सबै कर्जामा सरकारले ऋणीलाई ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिन्छ ।
तर यसमा न त सरकारले आवश्यक मात्रामा प्रचारप्रसार गरेको छ । नत सरकारले नै यसलाई कार्यान्वयन गर्न जोडतोडका साथ लागेको छ । जसका कारण यसको पुर्ण रुपमा कार्यान्वयमा आउन नसकेको हो ।