neapl investment mega bank
  • गृहपृष्ठ
  • सुस्ताउँदै पर्यटन : कामदारले गुमाए जागिर, व्यावसायमा हुन थाल्यो मासिक १० अर्ब क्षति

सुस्ताउँदै पर्यटन : कामदारले गुमाए जागिर, व्यावसायमा हुन थाल्यो मासिक १० अर्ब क्षति

Jul 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,असार २९

लकडाउनका अवधिभर पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति भएको पर्यटन बोर्ड र नागरिक उड्ययन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चैत ११ देखि हालसम्म मासिक १० अर्बका दरले क्षति भएको छ । लकडाउन साउन ७ गतेसम्म लम्ब्याइएको छ । यस अवस्थामा थप ७ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१८ पर्यटन क्षेत्रले नेपालमा करीब ५ लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको आकलन गरेको थियो । तर कोराना महामारीले सो पनि अधुरै रह्यो ।

आर्थिक वर्ष २०७५ /७६ मा होटल र रेस्टुरेन्ट क्षेत्रले अर्थतन्त्रमा रु.६२ अर्ब ८१ करोड योगदान दिएको थियो । कुल गार्हस्थ्य उत्पादनमा होटल र रेस्टुरेन्टले मात्रै २.०५ प्रतिशत योगदान गरेको छ ।

लगानी अनुरुप भएन प्रतिफल

सरकराले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषण गरेसंगै पर्यटन क्षेत्रले गति पाउने अपेक्षा गरिएको थियो । यही कारण बितेका पाँच वर्षमा नेपाली पर्यटन उद्योगमा आर्कषक लगानी पनि गरिएको छ । राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार, पर्यटन क्षेत्रमा ब्याङ्क तथा वित्तीय संस्थाको रु। १ खर्ब ३७ अर्ब लगानी भएको छ ।

सरकारी र नीजि क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्रको व्यवसाय संकटमा परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अन्य क्षेत्रमा भन्दा पर्यटन क्षेत्रमा धेरै असर परेको अधिकारीहरु बताउँछन् ।

कोरोना त्रासका कारण अर्बौं लगानीका होटलसहितका पूर्वाधार तथा व्यवसाय सङ्कटमा धकेलींदै गएका छन् । कोरोना त्रासका कारण देशभित्रको आन्तरिक पर्यटन, आवागमन, सभा सम्मेलन, खेलकुद जस्ता गतिविधि ठप्प छन् । कहिले देखि स्थिति समान्य हुने र पहिलेकै लय समात्लान्न भन्ने पनि अत्तोपत्तो छैन ।

कोरानाकै कारण, होटल तथा रेस्टुराँको व्यवसाय त खस्किएकै छ , ग्रामीण भेगका होमस्टे पनि संकटको भूमरीमा भासिदै छन् । पर्यटक आवागम घटेका कारण देशको विदेशी मुद्राको स्रोतमा पनि धक्का लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीना ९पुष सम्म मात्र नेपालले पर्यटन क्षेत्रबाट ३७ करोड ५७ लाख डलर आम्दानी गरेको थियो । पुषको अन्तिममा फैलिएको यस महामारी पछि भने भने व्यवसाय नै चौपट भएको छ ।

मार्च शुरू भएसँगै पर्यटक ह्वात्तै घट्न थाले । त्यस पछिका लागि गरिएका बुकिङ समेत धमाधम रद्द भएको व्यवसायीहरू बताउँछन् । पर्यटक नहुँदा त्यसले यस व्यवसायमा मात्र होइन होटल तथा उपभोग्य सामग्रीका आपूर्तिकर्तासँग हुने कारोबार पनि खलबलिएको छ । पर्यटनसँग जोडिएका अरु क्षेत्रमा पनि यसको प्रतिकूल असर बढ्दै गएको छ ।

वायू सेवा कम्पनी धरासायी बन्दै

एशियाली विकास ब्याङ्कका अनुसार कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई रु।४ अर्ब नोक्सान पुग्ने छ । यो वर्ष आन्तरिक हवाई वायुसेवा कम्पनीलाई रु।४ अर्बभन्दा बढीको नोक्सान हुने वायुसेवा सञ्चालक संघको अनुमान छ ।

३ महिना अघिसम्म झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेका थिए भने ३ महिना भन्दा अघिदेखिको लकडाउनका कारण आन्तरिक उडान ठप्प नै छ ।

यस्तो छ सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइमा कोरोनाको कारण पर्यटन क्षेत्र त धरासायी बनेकै छ, यति ठूलो लगानी रहेको क्षेत्रमा परेको असरले सम्पूर्ण क्षेत्रलाई त्यतिकै असर परेको छ ।

उनले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उल्लेख गरे ।

मन्त्री भट्टराइले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल तथा तयारी गरिरहेको जनाकारी दिए ।

लकडाउन सुरु भएदेखि आजसम्म पर्यटन क्षेत्रमा ३४ अर्ब क्षति भएको बताइएको छ । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ ।

मन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको बताए । पर्यटन क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने भनेर अहिले सरकरले २० करोडको एउटा कोष बनाएको जनाएका छन् ।