neapl investment mega bank
  • गृहपृष्ठ
  • हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

Jul 7th, 2020

काठमाडौं, २३ असार

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ असार २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णयबाट पदोन्नति भएका ९ जनामध्ये ७ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी उपरीक्षकहरु कृष्ण बहादुर धिताल, ई।दामोदर कडेल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरु बिशाल ज्ञवाली, सुरेश बिष्ट, शौरभ भण्डारी, बिजय कुमार शर्मा र ईशमाया केसी रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्राविधिक समूह संगठनको महत्वपूर्ण आधार भएकोले प्राविधिक प्रहरी अधिकृतको रुपमा जिम्मेवारी थप भएको बोध गरी संयमता र उच्च व्यावसायिक निष्ठाका साथ परिचालन हुन उहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

संगठनको विकासका लागि प्राविधिक पक्षको विशेष महत्व हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भुकम्प लगायत विषम परिस्थितिमा प्रहरीको प्राविधिक पक्षले नै देशभर सूचना आदान प्रदान लगायतका काम गर्न सफल भएको बताउनुभयो । व्यावसायिक दक्षता, निष्ठा र कर्तव्यबोधले व्यक्तिको उचित मूल्याङकन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्राविधिक सेवा अन्तर्गतका प्रहरीले आफ्नो दक्षतालाई आवश्यकता अनुसार उचित प्रयोग गरी प्रहरी सेवाको विश्लेषण गर्नुपर्ने उहाँले उल्लेख गर्दै प्रहरी समाजकै उपज भएकोले व्यवहारीक पक्षलाई समेत ध्यान दिँदै कानुनको कार्यान्वयन गर्न सहयोग पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो । प्रविधि र प्रमाणयुक्त अपराध अनुसन्धानले नै समाज अपराध मुक्त बनाउन सकिने भएकोले यसतर्फका जनशक्तिले आफूलाई अपडेट गरी प्रविधिमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी संगठन देशको संघीय संरचना अनुसार समायोजनको संघारमा रहेको सन्दर्भमा प्रहरी कर्मचारीहरु विचलित नभई उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गरी विषम परिस्थितिमा पनि परिचालन हुन तयार रहनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले समय अनुसार हुने मूल्याङ्कनले प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा थप दत्तचित्त हुने प्रेरणा दिएको चर्चा गर्दै संगठनको नीति अनुरुप पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै सोही मितिमा पदोन्नति भएका प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार सोम पौडेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रहरी नायव उपरीक्षक सत्यनारायण जयसवाललाई बाग्मती प्रदेश प्रहरी कार्यालयबाट दर्ज्यानी चिन्ह शुसोभन गरिने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।