neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेसद्वारा क्वारेन्टिन व्यवस्थापनका लागि आर्थिक सहयोग

काँग्रेसद्वारा क्वारेन्टिन व्यवस्थापनका लागि आर्थिक सहयोग

Jul 7th, 2020

बागलुङ, २३ असार /रासस

नेपाली काँग्रेससँग आबद्ध १५ भ्रातृ संस्थाले क्वारेन्टिन व्यवस्थापनका लागि रु एक लाख ७९ हजार सहयोग जुटाएका छन् ।सो रकममध्ये रु २० हजार आज बागलुङ नगरपालिकाकाको कोरोना व्यवस्थापन कोषलाई प्रदान गरिएको छ । काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहित भ्रातृ सङ्गठनका पदाधिकारीले संयुक्तरुपमा उक्त सहयोग रकम नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभयो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले बताउनुभयो । “भ्रातृ तथा शुभेच्छुक सङ्गठनबाट यो रकम उठाएका हौँ”, उहाँले भन्नुभयो, “जिल्लाका दशै वटा स्थानीय तहमा क्वारेन्टिन व्यवस्थापनका लागि हामीले सहयोग गर्दैछौँ ।”

भूतपूर्व सैनिक सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दललगायत सहयोगमा जोडिएका छन् । काँग्रेस जिल्ला सभापति थापाले सहयोग रकमको सही सदुपयोग हुनेमा विश्वास लिनुभयो ।नगरप्रमुख पौडेलले सबैको साझा प्रयास र सहकार्य भएमा मात्र सङ्कटसँग जुध्न सकिने धारणा राख्नुभयो । उहाँले क्वारेन्टिन व्यवस्थापनमा देखिएका समस्या सुल्झाइने जानकारी दिनुभयो ।

नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु ३१ लाख ६५ हजार रकम जम्मा भएको छ । सो कोषको रकम राहत, उद्धारका साथै कोरोना रोकथाममा खर्च गर्ने गरिएको छ ।