ललितपुर, २१ असार /रासस
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।
सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।” सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिनुभयो ।
जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लािगसकेको छैन ।
हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडांैका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
दैनिक पाँच सय दर्शनार्थी
हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथको दैनिक करीब पाँच सय दर्शनार्थीले गर्ने गरेका छन् । युगौँदेखि चल्दै आएको रथयात्रा यस वर्ष कोभिड–१९ ले सामान्य हुने अनुमान गरिए पनि रोगभन्दा संस्कृति ठूलो भन्ने मान्यताका साथ भक्तजन दर्शनमा आउने गरेका पानेजु पूर्णराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म दर्शन गर्न आउने मानिसको भीड सधैँ हुन्छ । यसमा पनि शनिबार र अन्य बिदाको दिन झन् यसभन्दा बढी नै हुन्छन् । ”
कोरानाका कारण सामाजिक दूरी कायम गरी भक्तजनलाई मच्छिन्द्रनाथको दर्शन गर्न दिने व्यवस्था मिलाइएको शाक्यले जानकारी दिनुभयो ।