neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी कर्मचारीहरूलाई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने – प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी कर्मचारीहरूलाई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने – प्रहरी महानिरीक्षक ज्ञवाली

Jul 4th, 2020

नवलपरासी, २० असार

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अग्रपंक्तिमा रहेर अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रहरी कर्मचारीहरूलाई उचित शिक्षा र व्यावसायिक दक्षता प्रदान गरी शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने बताउनुभएको छ ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा नवनिर्मित नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा रिमोट कन्ट्रोल मुख्य प्रवेशद्वारको शनिबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई उत्कृष्ट शिक्षा, आचरण एवम् व्यवहार सिकाउने नेपाल प्रहरीका विभिन्न तालिम केन्द्रहरूमध्ये प्रहरी युक्ति तालिम महाविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । अझै उत्कृष्ट जनशक्ति उत्पादन गर्नेतर्फ सदैव क्रियाशील रही व्यावसायिक दक्षता प्रदर्शन गर्न महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीको उच्च छविलाई कायम राख्न सबै प्रहरी कर्मचारीहरुले आफ्नो विवेक, निष्ठा र साहसको प्रदर्शन गर्दै राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रहरी महानिरीक्षक ज्ञवालीले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त महाविद्यालय, बाह्यय पेरिमिटरको निरीक्षण गर्नुका साथै महाविद्यालयका प्रशिक्षकद्वारा प्रदर्शन गरेका विभिन्न कला तथा कौशलको अवलोकन समेत गर्नुभयो ।

कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा र सोही नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले शुभकामना सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक वीर बहादुर ओलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सुनवल नगरपालिका, स्थानीय बासिन्दा तथा प्रहरी युक्ति तालिम महाविद्यालयको संयुक्त सहकार्यमा उक्त नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा मुख्य प्रवेशद्वारको निर्माण कार्य सम्पन्न भएको सो कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय भद्रभलादमीहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi