कराँची, १५ असार
बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ ।
कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिनुभयो ।
उहाँले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिनुभयो ।
कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ ।
तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ । पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा संचालित आपराधिक गिरोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो ।
पाकिस्तानमा अखडा बनाएका अल–कायदा र तालिबान समर्थित पाकिस्तानी लडाकूले पाकिस्तानका कुनै पनि क्षेत्रमा आक्रमण गर्ने सामथ्र्य राख्ने सुरक्षाविज्ञहरुको भनाई छ ।
स्थानीय महानगरका अधिकारीहरुका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आपराधिक समूहले गरेको ग्रिनेड आक्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
सन् २०१८ मा पृथकतावादी लडाकू समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा दिउँसो गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो । एएफपी