neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना जाँचमा पहिलो काठमाडौँ, दोस्रो जुम्ला

कोरोना जाँचमा पहिलो काठमाडौँ, दोस्रो जुम्ला

Jun 15th, 2020

जुम्ला, असार १

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताउनुभयो । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उहाँले बताउनुभयो । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ ।

तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा छ हजार ५०० को पिसिआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छ हजार ३६१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताउनुभयो ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिनुभएको हो ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताउनुभयो । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ ।रासस