neapl investment mega bank
  • गृहपृष्ठ
  • पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीलाई कोभिड–१९ सङ्क्रमण

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीलाई कोभिड–१९ सङ्क्रमण

Jun 13th, 2020

कराँची, जेठ ३१

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उहाँले बताउनुभएको छ ।

क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, “म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।”

उहाँले भन्नुभयो, “सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।”

सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् ।

अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि वस्तीवस्तीमा पुगी सहयोग गर्दै आउनुभएको थियो ।

गतहप्ता उहाँले एएफपीसँग कुरा गर्दै भन्नुभएको थियो, “म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुशी छु । मैले सहयोगका लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।”

अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् । रासस/एएफपी