काबुल, ३० जेठ
अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानको विद्रोही तालिबान समूहसँग कतारको राजधानी दोहामा वार्ता गर्न सहमत हुनुभएको छ ।
कतारका विदेश मन्त्रालयका विशेषदूत मतलाक अल–खातानीले राष्ट्रपति घानी र तालिबानबीच कतारमा वार्ता हुन लागेको जानकारी दिनुभयो ।
खातानीले काबुलमा प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसँगको भेटवार्तापछि उक्त सहमति भएको बताउनुभयो । अब्दुल्लाहले अफगानिस्तानमा शान्ति र सुरक्षा बहाल गर्न कतारको प्रयत्नप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।
आइतबार टोलोन्यूजले तालिबानसँगको निकट स्रोत उद्धृत गर्दै तालिबान र अफगान सरकारबीच दोहामा वार्ता हुन लागेको जनाएको थियो ।
तर वार्ताको ठोस मिति तय भइसकेको छैन तर अमेरिका र तालिबानबीचको पूर्व सहमति बमोजिम ५ हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न अफगान सरकारले सहमति जनाएको छ । रासस/एएनआई