neapl investment mega bank

प्रतिलिपि अधिकार विधेयक स्वीकृत

Jun 11th, 2020

काठमाडौँ, २९ जेठ

राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गर्नुभयो ।

उहाँले स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भन्नुभयो, “नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प्रयास गरिएको छ ।”

सांसद रामनारायण बिडारी, प्रकाश पन्त, कोमल वली र वेदुराम भुसालले उक्त विधेयकमाथिको छलपलमा भाग लिनुभएको थियो ।रासस