neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकी वायु सेनामा पहिलो अश्वेत नागरिक

अमेरिकी वायु सेनामा पहिलो अश्वेत नागरिक

Jun 10th, 2020

वासिङ्टन, २८ जेठ

अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उहाँ पहिलो अश्वेत नागरिक हुनु भएको छ ।

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गर्नु भएका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताउनुभयो ।

प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गर्नु भएको थियो । उहाँ स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उहाँले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाउनु भएको छ ।

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना हुनु भएको थियो । उहाँले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गर्नु भएको छ । उहाँले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गर्नु भएको थियो ।

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् । रासस/एपी