neapl investment mega bank
  • गृहपृष्ठ
  • पद्मसुन्दर लावतीको पाँचौं स्मृती दिवसमा सम्मान

पद्मसुन्दर लावतीको पाँचौं स्मृती दिवसमा सम्मान

Jun 9th, 2020

पाँचथर, जेठ २७

पाँचौ स्मृति दिवसको अवसरमा पूर्वमन्त्री पद्मसुन्दर लावतीप्रति सम्मान अर्पण गर्दै पाँचथरबासीले उनको योगदान चिरस्थायी र अनुकरणीय रहेको चर्चा गरेका छन् । जिल्ला सदरमुकाम फिदिम र स्वर्गीय लावतीको गाउँ यासोकमा स्थानीयहरूले मंगलबार छुट्टाछुट्टै स्मृति सभा आयोजना गरेर उनको कालजयी योगदानको चर्चा गरे । लावतीको फिदिम र यासोकस्थित शालिकमा माल्यार्पण गर्दै दिवंगत आत्माको सम्मानमा एक मिनेट मौन धारण गरे ।

फिदिम अहालगैरीस्थित लावतीको शालिकमा माल्यार्पण गर्दै समाजसेवी लोकेन्द्र आलेले भने, ‘बन्दाबन्दीको कारण यसपाली बृहत कार्यक्रम आयोजना गर्न संभव भएन । तर, पाँचथरको अभिभावकको रूपमा युगपुरूष पद्मसुन्दर लावती सदासर्वदा हामीबीच अमर हुनुहुन्छ । विकासप्रेमी नेताको रूपमा लावतीका कृतिहरू पाँचथरबासी सबैको लागि अनुकरणीय छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लावतीले विशेष गरेर पूर्वी नेपाल र पाँचथरको विकासमा महत्वपूर्ण आधारहरू स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । निर्वाचित प्रतिनिधिको रूपमा लावतीले पाँचथरको २५ वर्ष प्रतिनिधित्व गरे । यसै क्रममा गृह मन्त्रीसहित १२ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले ।

कुम्मायक गाउँपालिका, यासोकमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक मदन कुमार बोहराले नेता लावती आधुनिक पाँचथरको सर्जक रहेको बताए । ‘जिल्ला सदरमुकाम फिदिम, यासोक बजारको स्थापनामा पूर्वमन्त्री लावतीको महत्वपूर्ण देन छ । मेची राजमार्ग, साना जलविधुत, जिल्ला अस्पताल, फिदिम क्याम्पस, विद्यालय तथा स्वास्थ्य चौकी, दूरसंचार, बैंकलगायत विकासका महत्वपूर्ण पूर्वाधारहरू उहाँकै पालामा स्थापना भएका हुन्,’ बोहराले भने ।

‘पद्मसुन्दर लावती जनताको दुखसुखको साथी थिए, विकासका पर्याय थिए । उहाँको पदचिन्हमा अहिलेका नेताहरूले आधा मात्र काम गर्न सके, पाँचथरको विकास कहाँबाट कहाँ पुग्ने थियो,’ सयपत्री क्लबका अध्यक्ष शिव लावतीले भने ।

स्वर्गीय लावतीका छोरा सगुन सुन्दर लावतीले, पाँचौ स्मृति दिवसको अवसरमा नेता लावतीप्रति स्नेह र सम्मान व्यक्त गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । फिदिम र यासोकमा सम्पन्न स्मृति सभामा विभिन्न राजनीतिक दल, संघसंस्था र प्रशासनका प्रतिनिधि उपस्थित थिए ।