आधारभूमि संवाददाता
काठमाडौं,२६ जेठ
पछिल्लो समय लकडाउन केही खुकुलो गरिएपछि बैदेशिक व्यापार पनि बढ्न थालेको छ । चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ५० देखि ६० करोड रुपैयाँको मात्रै वस्तु आयात हुन्थ्यो भने हाल दैनिक ३ अर्ब रुपैयाँको वस्तु आयात हुन थालेको छ ।
सामान्य अवस्थामा देशभरका भन्सारबाट दैनिक ५ अर्ब रुपैयाँको आयात हुने गरेको थियो भने अहिले औसत दैनिक ३ अर्ब रुपैयाँको आयात भइरहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार अहिलेको आयातले पहिलेको तुलनामा ६० प्रतिशतको हिस्सा ओगटेको छ ।
कोभिड–१९ को महामारी रोक्न सरकारले लकडाउन गरेपछि बजारमा आपूर्ति तथा मागमा ठूलो मात्रामा गिरावट आयो । बजार नपाउँदा स्वदेशमा उत्पादित कृषिजन्य बस्तुहरु नष्ट गरियो । स्वदेशी उत्पादनले बजार नपाएर खेर गैरहेको बेलामा विदेशी उत्पादनले भने नेपाली बजारमा आफ्नो पकड कायमै राख्यो ।
लकडाउनका वेला आपूर्तिमा कमी आएको भएपनि वैदेशक माल वस्तुको आयातमा भने कमी आउन सकेन । यस अवधिमा अत्यावस्यक उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ ।
झण्डै ३ महिना लामो लकडाउनको अबधिमा मात्र झण्डै ५ अर्ब बराबरको औषधीजन्य वस्तु आयात भएको छ । त्यस्तै लकडाउन शुरु भएयता गत चैत्र ११ गते देखि जेठको तस्रो साता सम्म कुल २ लाख ४२ हजार ८ सय २० मेट्रिकटन खाद्यान्न आयात भएको उद्योग मन्त्रालयले जनाएको छ । त्यस्तै सो अबधिमा कुल ६८ हजार १ सय ९३ मेट्रिकटन दलहन आयात भएको तथ्याकंमा उल्लेख छ ।
यसैगरी उद्योग मन्त्रालयका अनुसार सो अवधिमा सम्ममा कुल ४ अर्ब ८७ करोड ९६ लाख ५६ हजार रुपैयाँको औषधीजन्य वस्तुको आयात भएको हो । जसमा सो अवधिमा कुल १ अर्ब १ करोड २९ लाख ५५ हजार पैयाँ बराबरको औषधीको कच्चापदार्थ आयात भएको छ भने, ३ अर्ब ८६ करोड ६७ लाख १ हजार रुपैयाँ बराबरको तयारी औषधी आयात भएको उद्योग मन्त्रालयको तथ्यााकंमा उल्लेख छ ।
यसैगरी लकडाउनको अबधिमा मात्र कुल ८६ हजार २ सय ९४ मेट्रिकटन तरकारी र ३४ हजार ६ सय ९५ मेट्रिकटन फलफूल आयात भएको मन्त्रालयले जनाएको छ । यसैगरी सो अवधिमा कुल १२ हजार २ सय ५७ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात भएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण अन्य माल सामान तथा मेसिनेरी वस्तुहरुको आयातमा गिरावट आएपनि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल,चामल, नुन तेल लगायत औषधीजन्य वस्तु र फूलफूल, तरकारी र दुधजन्यपदार्थ आयातमा भने निकै वृद्धि भएको छ ।
मन्त्रालयको तथ्यााकं विश्लेषण गर्दा यस अवधिममा खाद्यान्नमा ६९ प्रतिशतले, दाल तथा गेडागुडी १४.७ प्रतिशतले, तरकारी ४.० प्रतिशतले वृद्धि भएकको छ । त्यस्तै फलफूलममा ३८.१ प्रतिशतले, दुग्धजन्य पदार्थ ५८.४ प्रतिशतले र औषधी ४४.२ प्रतिशतले आयात वृद्धि भएको देखिन्छ ।
यस अवधिमाा बजार नपाएर स्वदेशमा उत्पादित करिब साढे दुई अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थमा केही खेर गयो भने केही त्यसै थन्किएको कृषि मन्त्रालयले जनाएको छ । यति ठूलो परिमाणमा विदेशी दुग्धजन्य पदार्थ आयात भइरहदा सवदेशी उत्पादनले वजार नपाउनु विडम्वना हो ।
दुधबाट बनेको बटर मात्र करिब एक हजार मेट्रिकटन बराबरको परिमाण त्यस्तै थुप्रिएको कृषि मन्त्री घनश्याम भुसालको भनाई छ । कृषि मन्त्रालयले कुल आपूर्तिको २० प्रतिशत मात्र फलफूल तथा तरकारी बाहिरबाट आयात भइरहेको जनाएको छ ।
आयातसंगै बढ्यो राजस्व
आयात बढेसँगै राजश्व संकलन पनि बढ्न थालेकोछ । लकडाउनका सुरुका केही हप्तामा १५ देखि २० करोड रुपैयाँ मात्रै राजश्व संकलन हुने गरेकोमा अहिले दैनिक ६० करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन भइरहेको छ ।
सामान्य अवस्थामा दैनिक १ अर्ब रुपैयाँ राजश्व संकलन हुने गरेको थियो । राजश्व संकलन पनि सामान्य अवस्थाको तुलनामा ६० प्रतिशतको हाराहारीमा संकलन भइरहेको भन्सार विभागले जनाएको छ ।