neapl investment mega bank
  • गृहपृष्ठ
  • मापदण्डभन्दा बाङ्गो पर्खाल निर्माण हुँदै

मापदण्डभन्दा बाङ्गो पर्खाल निर्माण हुँदै

Jun 8th, 2020

भजनी, २६ जेठ

टीकापुरको खुला मैदानमा शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन एकाइअन्तर्गत निर्माण भइरहेको घेरा पर्खाल मापदण्डविपरीत बाङ्गो निर्माण भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर निर्माण कम्पनीले कामदारका भरमा पर्खालको काम गर्दै आएको छ ।

कामदारले काम गर्दै आए पनि आयोजनाको २० प्रतिशत काम हुँदासम्म कामदारकै भरमा काम हुँदा पर्खाल बाङ्गो भएको निर्माण कम्पनीले समेत स्वीकार गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी एकाइ धनगढीले जयमालिका निर्माण सेवा बर्दगोरिया कैलालीसंँग ठेक्का सम्झौता गरेको थियो । योजनाको काम बन्दाबन्दीभन्दा पहिले नै शुरु भए पनि बन्दाबन्दी समयमा केही दिन काम रोकिएको तर अहिले निरन्तर काम भइरहेको छ । काम भए पनि अहिलेसम्म योजनाको सूचना पाटीसमेत राखिएको छैन ।

निर्माणको जिम्मा पाएको जयमालिका निर्माण सेवाका प्रबन्धक कमल बटालाले पर्खाल निर्माण गर्दा बाङ्गो भएको स्वीकार गर्दै त्यसलाई भत्काएर पुनः निर्माण गरिने बताउनुभयो ।

स्थानीयवासीले बन्दाबन्दीको मौकामा ठेकेदारले योजनाको काम कमसल र प्राविधिकको इस्टिमेटविना पर्खाल बाङ्गो निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि एकाइले साइट इञ्जिनीयरलाई पर्खालको अनुगमन तथा निगरानीका लागि खटाएको छ । इञ्जिनीयर सन्तोष जेठाराले टीकापुरमा निर्माण भइरहेको घण्टाघरको अनुगमनमा आफूलाई खटाइएको बताउँदै सो आयोजनाका बारेमा जानकारी नभएको स्पष्ट गर्नुभयो ।

शहरी विकासअन्तर्गत टीकापुरमा सञ्चालन भएका अन्य आयोजनामध्ये दुई ठूला आयोजनाको काम शुरु हुन सकेको छैन । जमरा पुलदेखि बसपार्कसम्मको ६ लेन सडक निर्माणको काम र स्मार्ट सिटीअन्तर्गत निर्माण भइरहेको सडक निर्माणको काम बन्दाबन्दीको समय शुरु भएसँंगै बन्द भए पनि अझै शुरु हुन सकेका छैनन् । छ लेन सडक निर्माणको काम विद्युत खम्बाको समस्या देखाउँदै शुरु हुन सकेको छैन भने स्मार्ट सिटीअन्तर्गतको सडक निर्माण सामग्रीको अभाव देखाउँदै पन्छिएका छ ।

वर्षात्को समय शुरु हुनै लाग्दा विकासको काम अलपत्र भएका कारण निकास कतै नहुँदा टीकापुरमा डुबानको जोखिम बढ्ने देखिन्छ । उता अत्याधुनिक बसपार्क निर्माणको काम सम्पन्न हुने अवस्थामा छ भने घण्टाघर निर्माणको काम पनि सञ्चालन भइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi