neapl investment mega bank
  • गृहपृष्ठ
  • अमरनारायण मन्दिरको पोखरीमा २१४ वर्ष पुरानो तामाको पाइप फेला

अमरनारायण मन्दिरको पोखरीमा २१४ वर्ष पुरानो तामाको पाइप फेला

Jun 3rd, 2020

पाल्पा, २१ जेठ

तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ । पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको तामाको पाइप भेटिएको पोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले बताउनुभयो । पोखरीको पिँधमा सरसफाइ गर्ने क्रममा तामाको पाइपबाट पानी निकासी भइरहेको देखेपछि कामदारले आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

पोखरी मर्मत तथा १०८ धारा जडानका लागि सरसफाइ गर्ने क्रममा भेटिएको ऐतिहासिक तामाको पाइपलाई अमरनारायण युवा क्लबले सुरक्षित साथ राखेको स्थानीयवासी हिमालदत्त श्रेष्ठले बताउनुभयो । पोखरीमा फेला परेको उक्त तामाको धातु पाल्पा तानसेनस्थित ऐतिहासिक सङ्ग्रहालयमा राखिने भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पोखरीमा फेला परेको ऐतिहासिक वस्तु पाल्पा दरबार सङ्ग्रहालयमा राख्नेगरी हस्तान्तरण गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

तामाको केही भागमात्र निकाल्न सफल भएपछि ठूलो मात्रामा जमिनमुनि तामाको पाइप हुनुपर्ने स्थानीयवासीको भनाइ छ । पोखराको पानी तानसेन मिसन सडक खण्डको नारायणस्थान सडक नजिकैको खोल्सामा निकालिएको छ । पोखरीको पर्खालमा रहेको तामाको पाइपमात्र कामदारले निकालेका हुन् ।

काजी अमरसिंह थापाले विसं १८६३ मा कलात्मक अमरनारायणको मन्दिर र ठूलो पोखरी निर्माण गरेको थियो । सोही समयमा नै मन्दिर परिसरको पोखरीको पानी निकाल्न तामाको पाइप बनाई पानी निकालेको हुन सक्ने अनुमान स्थानीय बासिन्दाको छ ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi