neapl investment mega bank
  • गृहपृष्ठ
  • छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

Jun 3rd, 2020

कास्की, २१ जेठ स्

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उहाँले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्ट पार्नुभयो ।

संवैधानिक र कानूनीरूपमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने एवं सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने स्पष्ट व्यवस्था रहेको मुख्यमन्त्रीले स्पष्ट पार्नुभएको छ । छुवाछूत नेपालको संविधान, कानून र सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल स् सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउने हाम्रो सामूहिक सङ्कल्पका अगाडि खडा भएको साझा चुनौती पनि हो र यसको हामी सामूहिकरूपमा नै सामना गर्नुपर्दछ भन्नुभएको छ ।

सन्देशमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको बागलुङमा जन्मनुभएका नेपालको सङ्गठित दलित मुक्ति आन्दोलनका संस्थापक भगत सर्वजीत विश्वकर्मालगायत सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली समाजमा विद्यमान सबै प्रकारका अन्याय, विभेद र उत्पीडनको अन्त्य गर्दै मानवीय मूल्य र मान्यता स्थापित भएको सभ्य र समतामूलक समाज निर्माणमा आ–आफ्नो ठाउँबाट अर्थपूर्ण भूमिका निर्वाह गर्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत मुख्यमन्त्री गुरुङले गर्नुभएको छ । कोभिड–१९ विरुद्धको लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्न आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मुख्यमन्त्रीको रहेको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi