neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

Jun 2nd, 2020

तेहरान, २० जेठ

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ ।

मन्त्री जरिफले इरानी बैज्ञानिक डा सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताउनुभयो ।

डा असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उहाँ त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा जानु भएको थियो ।

तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय बैज्ञानिक डा असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिनु भएको थियो ।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिनुभएको थियो । इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् ।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् । रासस/एएफपी