काठमाडौ, जेठ २०
भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले होल्डिङ सेन्टरको निरिक्षण गरेकाछन । कोरोना रोकथाम तथा नियन्त्रका लागि प्रदेश नं. १ संग समन्वय गर्ने समेत जिम्मेवारीमा रहनु भएका नेम्बाङले मंगलबार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरिक्षण गरेका हुुन ।
होल्डिङ सेन्टर निरिक्षणपछि डिसीसीएमसी भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिप्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनिकरण गर्न सकिने बताए । उनले ‘हामीले गरेका तयारीहरु ठीक छन् यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनिकरण गर्न सकिन्छ ।’
मन्त्री नेम्बाङले होल्डिङ सेन्टरमा आवश्यक प्रक्रियाहरु पुरा गरि प्रदेश र स्थानीयतहसंगको समन्वयमा नागरिहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टिनसम्म पुर्याइने बताए ।
उनले महामारी विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरुलाई उच्चमनोबलका साथ काम गर्न अग्रह गर्नु भयो । अग्रमोर्चामा रहेर महामारी विरुद्धका लडाई लडिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतका भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गरे ।
जिल्ला सीसीएमसी भक्तपुर र नेपाली सेनाले प्रदेश नं. १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट् र प्रदेश नं. २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टीप्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेका छन् । दुवै होल्डिङ सेन्टर एक⁄एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
कार्यक्रममा प्रमुख सेनानी शिबप्रसाद पौडेलले होल्डिङ सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरु बिफ्रिङ गरेका थिए ।
कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुर्याई क्वारेन्टिन पठाउने सरकारको तयारी छ ।
विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँ उनीहरुको पालिकागत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।
होल्डिङ सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहानेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारिन्टिनमा बस्नेलाई सम्बन्धीत जिल्ला सदरमुकामसम्म पुर्याइनेछ । यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टिनमा राख्नुपर्नेछ । स्थानीयतहको क्वारेन्टिनमा बस्नेलाई खाना लगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।