neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक दूरी कायम गर्दै कुला खन्न जुटे किसान

सामाजिक दूरी कायम गर्दै कुला खन्न जुटे किसान

May 14th, 2020

–दुर्गा देवकोटा
लम्की, जेठ १ (रासस)

कोरोना महामारीको त्रास सबैतिर छ । कोरोनाको त्रासले नेपालमा पनि सबै क्षेत्रमा क्षति पु¥याएको छ । नेपाल कृषि प्रधान देश भएकाले कोरोना त्रास कायम रहे पनि किसान भने खेतीपाती गर्ने तयारीमा जुटेका छन् । यस क्षेत्रका किसान धानको ब्याड राख्ने समय नजिकिएपछि सामाजिक दूरी कायम गर्दै कुला खन्ने कार्यमा जुटेका छन् । धानको ब्याड राख्न र खेती गर्नका लागि पानीको व्यवस्था गर्न अहिले कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसान कुलो र नाला खन्ने तथा सरसफाइ गर्ने कार्यमा व्यस्त छन् ।

खेती गर्ने समयमा पर्याप्त पानी खेतसम्म पु¥याउन किसानले हरेक वर्ष कुलो खन्ने काम गर्छन् । “खेतसम्म पानी पु¥याउने कुलो तथा नाला सरसफाइ नगरिए सिँचाइको व्यवस्था हुँदैन”, किसान सुधराम चौधरीले भन्नुभयो, “देश लकडाउन छ तर कृषिकर्म गर्नका लागि किसानले काम गर्ने समय यही हो, त्यसैले सामाजिक दूरी कायम गर्दै काम गर्न थालेका छौँ ।”

उहाँका अनुसार धानखेती गर्न सहजतासँगै उत्पादन राम्रो लिनका लागि किसानले यो सिजनमा वर्षेनी कुलो खन्ने, नाला सरसफाइ गर्ने गर्दछन् । टीकापुर नगरपालिका वनगाउँका किसान पनि बुधबारदेखि गाउँको कुलो सरसफाइमा जुटेका छन् । धानखेती गर्ने समयमा पर्याप्त पानी खेतसम्म लैजानका लागि १५० किसानले श्रमदानसहित गाउँको कुलो खन्न थालेका छन् । कोरोनाको महामारी, लकडाउनसँगै खेतीपातीको काम गर्न किसानलाई सहज छैन । सहज नभए पनि पानीबिना खेती गर्न नसकिने भएकाले किसान व्यक्तिगत सुरक्षाका उपाय अपनाएर सामाजिक दूरी कायम गर्दै काम गर्न थालेको वनगाँउका बड्घर पहारुलाल चौधरीले जानकारी दिनुभयो । “यो सिजनमा काम नगरे खेती भित्र्याउन सकिँदैन”, उहाँले भन्नुभयो, “किसानसँगको छलफलपछि सुरक्षित भएर काम गर्ने सहमति भयो । हामीले काम शुरु ग¥यौँ ।”

टीकापुर–१ विपतपुरका किसान पनि पाँच दिनदेखि गाउँको कुलो खन्ने कार्यमा जुटिसकेका छन् । एकै कुलोको पानी धेरै गाउँका किसानले प्रयोगमा ल्याउने भएकाले कुला सरसफाइ नगरे पानी सबैलाई पुग्दैन । यहाँका सिँचाइ कुलोहरु एक गाउँ हुँदै अर्को गाउँसम्म पुगेका छन् । कुला सरसफाइ अभियानमा दुई वा तीन गाउँसम्मका किसान सहभागी हुनुपर्ने हुन्छ । तर यो वर्ष कोरोनाको जोखिम भएकाले आ–आफ्नो क्षेत्रमा कुलो खन्ने सहमति भएको छ । ‘‘विपतपुरमा पनि पाँच दिनदेखि कुलो खन्ने काम शुरु भएको छ”, विपतपुरका बड्घर वीरबहादुर घर्तीमगरले भन्नुभयो, “२५ जना किसान कहरको जोखिम छिचोल्दै सुरक्षित भएर काम गरिरहेका छन् ।”

धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था हुनुपर्छ । पानीको अभाव भएमा धान उत्पादनमा कमी आउने किसान बताउँछन् । धान उत्पादन बढी लिनकै लागि किसान कुलोका व्यवस्थापन गर्ने र सरसफाइ गर्ने कार्यमा जुटेका हुन् । कतिपय गाउँका किसान लकडाउन, कोरोनाको जोखिममा जनश्रमदान मात्र नभइ मेसेनरी औजारको प्रयोग गरेर भए पनि कुलो खन्ने, सरसफाइ गर्ने कार्य गरिरहेका छन् ।

“विपत्तिको बेला धेरै समय लाग्ने, धेरै जनश्रमदान गर्नुपर्ने भएकाले किसान मेसेनरी औजार प्रयोग गरी कुलो सफाइ गरिरहेका छन्”, जानकी गाउँपालिका–६ का भोजबहादुर चौधरीले भन्नुभयो, ‘‘मानिसले खन्न ढिलो हुने र सुरक्षा चुनौती रहेकाले कतिपय ठाउँमा स्काभेटरको प्रयोग पनि गरिरहेका छौँ ।”

उहाँले खेतीका लागि पानी किसानलाई नभइ नहुने भएकाले खेतीपातीमा सहजताका लागि सुरक्षाको उपाय अवलम्बन गर्दै किसानले खेती गर्ने तयारी गरेको बताउनुभयो । ‘‘यतिखेर किसान पनि खाद्य सङ्कट हुनसक्ने चिन्तामा छन्”, उहाँले भन्नुभयो, “सङ्कट टार्न अन्न उत्पादन वृद्धि हुन आवश्यक छ । अन्न उत्पादनका लागि किसानले अहिले सुरक्षित हुँदै काम गर्नु राम्रो हो ।”