neapl investment mega bank

एक लाख थान आरटीडी किट आइपुग्यो

May 11th, 2020

काठमाडौँ, २९ वैशाख (रासस)

कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो । यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न आज नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पु¥याइनेछ ।” सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो । प्राप्त विवरणअनुसार ती किट प्रति थान रु ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो ।