neapl investment mega bank

गाउँ फर्किएका युवा विकासनिर्माणमा

May 11th, 2020

झिमरुक,२९ वैशाख(रासस)

कोभिड –१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा विकासनिर्माणका काममा जुटेका छन् । गाउँमा आएर बेरोजगार जस्तै बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकासनिर्माणमा सहभागी बनाइएको छ ।

प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा लागेका छन् । जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काम थालेका छन् । प्रदेश नं ५ सरकारको करीब रु एक करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको कार्य भइरहेको वडाध्यक्ष लछुमन भण्डारीले बताउनुभयो । युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेको उहाँको भनाइ छ । दैनिक ज्यालादारीमा एक युवकले रु ६ सयदेखि ८ सयसम्म कमाउने गरेका छन् ।

प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ । दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको गरेको स्थानीयवासी युवा दिलबहादुर दसौँदीले बताउनुभयो । स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन् । स्थानीय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौँदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो । “पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौँ”, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi