काबुल, २८ वैशाख (रासस/एएनआई)
अफगानिस्तान सरकारले तालिबान आन्दोलनका एक हजार समर्थकलाई रिहा गरिदिएको छ ।
विद्रोही पक्ष र सरकार पक्षका बीचमा वार्ताका लागि वातावरण बनाउन सजिलो होस् भन्ने उद्देश्यले उनीहरुलाई रिहा गरिएको सरकारी अधिकारीहरुले शनिबार बताएका छन् ।
अफगान सुरक्षा राष्ट्रिय परिषद्का अधिकारीहरुले भनेका छन्, “कोरानाभाइरस विरुद्धको लडाई र शान्ति सुरक्षा कायम गर्नका लागि एक हजार जनालाई रिहा गरिएको हो ।”
उनीहरुको रिहाईले हिंसा अन्त्य गर्न र शान्ति स्थापना गर्नका लागि सिधै वार्ता शुरु गर्न सजिलो हुने विश्वास पनि सरकारी अधिकारीहरुले गरेका छन् ।
परिषद्को आधिकारिक ट्वीटरमा अफगान सरकार वार्ता मार्फत् हिंसाको अन्त्य गर्न चाहेको उल्लेख गरिएको छ ।
अफगानिस्तानमा शान्ति स्थापना गर्नका लागि भन्दै गत फेब्रुअरीमा तालिवान पक्ष र अमेरिकी पक्षका बीचमा कतारको दोहामा सम्झौता भएको थियो ।
उनीहरुका बीचमा शान्ति सम्झौता भएपनि अफगानिस्तानमा शान्ति स्थापना हुन भने सकेको छैन । अनेक समूहबाट हिंसात्मक गतिविधिहरु भइरहेका छन् ।
अमेरिकी पक्ष र तालिबान पक्षका बीचमा भएको सम्झौताका आधारमा तालिबान पक्ष पाँच हजार बन्दीहरुलाई रिहा गर्न माग गरेको छ । अफगान सरकारले पनि उनीहरुलाई चरणबद्ध रुपमा रिहा गरिने जनाएको छ ।