डोल्पा, २७ वैशाख (रासस)
शङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर आइपुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
केहीबेरमै शङ्कास्पद व्यक्तिको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताउनुभयो । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब सङ्कलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए/नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ । शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थ्यकर्मीले दु्रत परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझ नै पुनःशङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
आरडिटी रिपोर्टबाट स्वास्थ्यकर्मी नै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थ्यकर्मी झिकाएर पिसीआर परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ । शङ्कास्पद व्यक्ति पछिल्लो समय कोराना सङ्क्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएका हुन् ।