neapl investment mega bank
  • गृहपृष्ठ
  • निःशुल्क खाना व्यवस्थापन गर्दै मध्यपुर थिमि

निःशुल्क खाना व्यवस्थापन गर्दै मध्यपुर थिमि

May 9th, 2020

–रमेश गिरी
भक्तपुर, २७ वैशाख (रासस)

मध्यपुरथिमि नगरपालिकाले लकडाउन लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर, गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ ।

नगर क्षेत्रभित्रको कमेरोटारस्थित एभरेष्ट पार्टी प्यालेस, थिमिको बाहाखा बजारस्थित बोडेको सिन्टीटार र नगदेशको शुभश्री बैङ्क्वेटमा निःशुल्क खाना वितरण गर्ने कार्यलाई निरन्तरता दिइएकोे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणको राहत वितरण सम्पन्न गरेपछि यही वैशाख ११ देखि २५ गतेसम्मका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण गर्ने कार्य लकडाउन अवधिभर जारी राख्ने गरी जेठ ५ गतेसम्म थप गरिएको उहाँले बताउनुभयो । सो नगरपालिका सहित नगरवासीका विभिन्न दाता, सङ्घसंस्था, शैक्षिक निकाय, सहकारी एवं व्यक्तिगतरूपमा नगद एवं खाद्यान्न सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उहाँले दैनिक बिहान र बेलुका गरेर आठदेखि १० हजार व्यक्तिलाई खाना खुवाइरहेको बताउनुभयो ।

नगरपालिकाले पहिलो चरणमा सात हजार ५२८ परिवारलाई रु ७४ लाख ४८ हजार ४४९ बराबरको राहत वितरण गरेको थियो । नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, “अहिलेको विषम परिस्थितिमा आफ्ना नगरपालिकामा कोही भाकै बस्नु नपरोस् भन्ने नीति लिएर नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार नै सबै वडामा राहत वितरण सम्पन्न गरेका छौँ, आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै नपरुन् भनेर नगरपालिकाका सबै जनप्रतिनिधिको चाहनाअनुसार सामूहिक मेस सञ्चालन गरेर विभिन्न ठाउँमा निःशुल्क खाना खुवाइरहेका छौँ ।”

नगरपालिकाले सञ्चालन गरेको सामूहिक मेसमा अधिकांश कोठाभाडामा बस्ने विपन्न, गरिब र मजदुर एवं उनीहरुका परिवारले लाभ लिइरहेका छन् । नगरपालिकाले एक जना लाइन बसे पनि परिवार सङ्ख्याका आधारमा सिङ्गो परिवारलाई नै खाना वितरण गर्दै आएको छ । एक जनाले दुईदेखि पाँच जनासम्मका लागि खानाको प्याकेट लिएर जाने गरेका छन् ।

सामूहिक मेसमा सो नगरपालिकाका बासिन्दा मात्रै नभइ चाँगुनारायण नगरपालिकाभित्र सञ्चालित केही इँटाभट्टामा रहेका करिब मजदुरले पनि लाभ लिइरहेका छन् । नगरपालिकाले सञ्चालन गरेको मेसमा आउने जोकोहीलाई खाना वितरण गर्ने गरिएको छ । उहाँले भन्नुभयो, “लकडाउन लम्बिएकाले खाना खुवाउने कार्यक्रम पनि लम्बिएको छ, लकडाउनभरि खाना खुवाउँछाँै, हामीले नगरवासीलाई मात्रै होइन, भोकै बसेका वा बस्नुपर्ने अवस्था आएका जोसुकै व्यक्ति आए पनि खाना दिन्छाँै, कोही भोकै बस्नु पर्दैन ।”

नगरपालिकाका वडा, यहाँका बासिन्दा र विभिन्न सङ्घसंस्थाले पनि सामूहिक मेस सञ्चालनमा सघाइरहेका छन् । मानवीय आस्था नेपाल, शिक्षा विकास सञ्जाल, मध्यपुर प्याब्सन, बिभिन्न सहकारी, व्यक्तिलगायत विभिन्न निकायले खाना खुवाउने कार्यका लागि नगद तथा खाद्यान्न सहयोग गरिरहेका छन् । स्थानीय दाताले पनि खाद्यान्नदेखि तरकारी सहयोग गरेको बताउँदै नगरप्रमुख श्रेष्ठ खाना बनाउनदेखि खुवाउन थिमिका टोलटोलबाट महिला, पुरुष स्वयंसेवकका रूपमा सहयोग गरिरहेको बताउनुभयो । अपाङ्गता, असहाय र अतिगरिब परिवार रहेको खबर आउनासाथ सम्बन्धित वडा कार्यालयले घर–कोठामै लगेर खाद्यान्न वितरण गर्ने कार्य जारी राखेको छ । कोही भोकै भए वा खाद्यान्न अभावमा सङ्कटमा परे वडा कार्यालय वा नगरपालिकालाई खबर गर्नसमेत आह्वान गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi