neapl investment mega bank

सापटी मागेर राउटेलाई भत्ता वितरण

May 8th, 2020

सुर्खेत, २६ वैशाख (रासस)

कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो ।

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल यहाँको भेरीगङ्गा नगरपालिकाको छिन्चु नजिक बसाइँ सरेका छन् । गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि रु चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताउनुभयो । सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता दिँदै आएको छ । काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण थप समस्यामा परेको थियो ।

लकडाउनकै अवधिमा भत्ता पाएपछि राउटेहरु खुशी भएका छन् । मुखिया सूर्यनारायण शाहीले गाउँ जान नपाएका कारण आफूहरुले बनाएको सामान बिक्री नभएको बताउनुभयो । “सामान त्यत्तिकै थन्किएका छन्, परिवार ठूलो छ, रासन धेरै चाहिन्छ, गाउँपालिकाले भत्ता दिएपछि राहत मिल्यो, खुशी छौँ” उहाँले भन्नुभयो । भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेहरुलाई आउजाउमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi