neapl investment mega bank
  • गृहपृष्ठ
  • उदयपुरको भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

उदयपुरको भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

May 7th, 2020

गाईघाट, २५ वैशाख (रासस)

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ ।

भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

भुल्केमा पहिलो चरणको स्वाब परीक्षणमा १२ भारतीय नागरिकसहित १६ जना स्थानीय मुस्लिम परिवार गरेर २८ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थाबारे अध्ययन गर्न पटक पटक कोरोनासम्बन्धी स्वाब सङ्कलन र परीक्षण गरिँदै आएको छ । पहिलो चरणको स्वाब सङ्कलन र परीक्षणमा २८ जनामा कोरोना देखिए पनि त्यसपछि पटक पटक गरेर तीनपटक परीक्षण गरिएको र पछिल्लो चरणका परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा कोरोना सङ्क्रमित २८ जना सबैको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये ६ जना भारतीय मुस्लिम नागरिकको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार डिस्चार्ज गरिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।