neapl investment mega bank
  • गृहपृष्ठ
  • तनहुँमा मान्छेलाई आक्रमण गर्ने चितुवा मारियो

तनहुँमा मान्छेलाई आक्रमण गर्ने चितुवा मारियो

May 7th, 2020

तनहुँ, २५ वैशाख (रासस)

तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।

स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो ।

सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उहाँले बताउनुभयो ।

घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताउनुभयो । केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच÷छ वर्षको देखिने २५÷३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi