मोरङ, बैशाख २३
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १८ स्थित एकिकृत जाँच चौकीबाट बैशाख २३ गते एपीएफ टोलीले एक करोड नौ लाख उनासी हजार सात सय तीस भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ्ग घर बताउने २५ वर्षिय रविकुमार शर्मा र भारतकै बिहार रौतिनिया घर बताउने १८ वर्षिय चतुर कुमार छन् ।
डब्लुबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रकमा चालकको सिटमुनी कार्टुनमा राखेर लुकाई छिपाई अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित भारतीय रुपैयाँसहित सो ट्रकका चालक तथा सहचालक रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले सो ट्रक समेत बरामद गरेको छ ।