neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘आवतजावत अझै रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ’

‘आवतजावत अझै रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ’

May 1st, 2020

–नारायण ढुङ्गाना
काठमाडौँ, १९ वैशाख (रासस)

कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण मुलुकका विभिन्न जिल्लामा दैनिकरुपमा देखिँदै आएको छ । आजमात्रै थप दुई जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैले रोगको सङ्क्रमण फैलन नदिन अझै आवतजावत रोक्नुपर्ने आवश्यकता रहेको उपत्यका नगरपालिका फोरमले जनाएको छ । तेस्रो मुलुकसँग भारतबाट आवातजावत पूर्ण रोक्दै आन्तरिकरुपमा पनि उपत्यका र मोफसलको आवतजावतसमेत अझै खुला गर्न नहुने धारणा जनप्रतिनिधिको छ ।

“अहिलेको अवस्थामा उपत्यकाबाट बाहिर जाने र भित्रिने क्रम अझै केही समय रोक्नुपर्छ”, फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “एक व्यक्तिका कारणले आम समुदायलाई नै प्रभावित बनाउने हुँदा अझै चनाखो हुनु जरुरी छ ।” यद्यपि उपत्यकाभित्रको वातावरणलाई सहजीकरण गर्दै आन्तरिकरुपमा उद्योग कलकारखाना सञ्चालन गर्ने, आर्थिक गतिविधि बढाउने, मजदूरलाई रोजगारी उपलब्ध गराउने कुरामा भने केही खुकुलो गर्नुपर्ने फोरमको निष्कर्ष रहेको श्रेष्ठले बताउनुभयो । यही निष्कर्षका साथ सरकारलाई अनौपचारिक रुपमा सुझाव दिएकोसमेत उहाँले बताउनुभयो ।

उपत्यकामा १६ नगरपालिका र दुई महानगरपालिका छन् । सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागितामा उपत्यका नगरपालिका फोरम गठन गरेर साझा मुद्दामा काम गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा उक्त फोरम छ ।

आन्तरिकरुपमा गतिविधि बढाउँदै उपत्यकाबाट मानिस बाहिरिने र बाहिरबाट उपत्यका भित्रिने गर्दा समस्या आउनसक्नेतर्फ फोरमले आम समुदाय र सरकारी संस्थालाई सचेत गराएको जनाएको छ । उक्त फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन आन्तरिक आर्थिक गतिविधिलाई चलायमान गराउँदै उपत्यका र बाहिरको आवतजावत अझै रोक्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

“यही अवस्थामा राखिरहँदा आर्थिक क्रियाकलाप थप धराशायी हुन्छ, आन्तरिक गतिविधिलाई चलायमान बनाउनै पर्छ, हामीले यो ३९ दिनको लकडाउन हे¥यौँ, त्यसको आधारमा पनि भ्यालीलाई चलायमान गराउनुको विकल्प हुन्न, तर आवतजावन पूर्ण रोक्नुपर्छ”, महर्जनले रासससँग भन्नुभयो । उहाँले केही दिन अघि पूर्वी नेपालबाट गाडीमा मानिस ल्याउँदा जोखिम बढेको भन्दै उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

केही अघि मानिस पैदल हिँड्ने अवस्था थियो तर अहिले भने सबै रोकिएको र मानिसको आवतजावतमा पूर्ण रोक लगाइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउनुहुन्छ । गृहमन्त्रालयको निर्देशनमा अहिले प्रहरीले लकडाउनलाई थप कडाइ गरेको उहाँले बताउनुभयो ।

सरकारले कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर गत चैत ११ गतेदेखि अत्यवश्यक कामबाहेक बाहिर ननिस्किने गरी लकडाउनको आदेश जारी गरेको थियो । लकडाउन यही वैशाख २५ गतेसम्मका लागि जारी छ । पछिल्ला दिनमा दैनिकजसो नै कोभिड–१९ सङ्क्रमण भेटिँदै आएकाले पनि सरकारलाई लकडाउन खुलाउनेमा नैतिक दबाब छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल उपत्यका आवतजावतमा कडाइ जरुरी रहेको औँल्याउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आजसम्म मुलुकमा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उहाँले अझै पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याउनुभएको छ । मुलुकमा अहिले लकडाउनलाई लम्ब्याउने की स्वरुपमा परिवर्तन गर्ने बहस चलिरहेको छ । सामाजिक सञ्जालमा समेत लकडाउनलाई निरन्तरता दिनुपर्ने र स्वरुप परिवर्तन गर्नुपर्ने विषयमा चर्कोरुपमा उठिरहेको छ ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार उद्योग कलकारखानालाई सक्रिय गराउने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको थियो । यसअघि सरकारले आन्तरिकरुपमा चलाउन सक्ने उद्योग कलकारखाना तथा कृषि कर्मलाई सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ । यसका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै बाह्य व्यक्तिको प्रवेश गर्न भने पाउने छैनन् । आर्थिक गतिविधिलाई क्रियाशील बनाउन कै लागि सरकारले कृषकले उत्पादन गरेका आधारभूत खाद्य सामग्रीलाई संस्थानमार्फत खरिद गरी बिक्री गर्ने निर्णय गरेको छ भने असङ्गठित क्षेत्रका मजदूरलाई सरकारी कार्यालयका आयोजनाका काममा लगाउने निर्णय गरिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi