neapl investment mega bank

लकडाउनमा पनि भेरी बबईको काम निरन्तर

May 1st, 2020

–प्रकाश अधिकारी
सुर्खेत, १९ वैशाख (रासस)

कोभिड– १९ को सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) ले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर परेको छैन । सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणका निर्माणलाई निरन्तरता दिएको हो ।

आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङको फिनिसिङको काम भइरहेको बताउनुभयो । बर्खाअघि सक्नुपर्ने अत्यावश्कीय काममा आफूहरु केन्द्रित भएको उहाँले बताउनुभयो । “बर्खाअघि नदीको बीचमा पर्खाल लगाएर बाँध बनाउन सकिएन भने लक्ष्यअनुसार आयोजनाले प्रगति गर्न सक्दैन”, सूचना अधिकारी उपाध्यायले भन्नुभयो ।

कामदारलाई क्याम्पभित्रै राखेर काम जारी राखेको उहाँको भनाइ छ । सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेलगायतका निर्देशन दिएको छ । बाँधस्थल चिप्लेमा हाल १३० कामदार कार्यरत छन् । सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै खाने बस्ने व्यवस्था मिलाइएको छ । लकडाउन लम्बिए पनि अत्यावश्यक सामग्री अभाव हुन नदिने तयारीमा रहेको आयोजनाले जनाएको छ । प्रशासनले लकडाउन अवधिमा स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजनाको काम अघि बढाउन निर्देशन दिए पनि ठेकेदारलाई सिमेन्ट बाहिर जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । सुर्खेतमा सिमेन्ट उद्योग छैनन् ।

सूचना अधिकारी उपाध्यायले बाँधका साथै सुरुङ फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम पनि भइरहेको जानकारी दिनुभयो । यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्ने, आसपासमा बोट बिरुवा रोप्नेलगायतका काम पर्दछन् । टनेल बोरिङ मेशिन ९टिबिएम० को सहायताले गत वर्ष चैतमै १२ किमि २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको थियो । फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि ९कोभेक० ले सिचाइँ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन् । चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए ।

टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको थियो । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धीमा पर्दछ । निर्माण कार्यका हिसाबले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजनाको दाबी छ ।

त्यस्तै, दोस्रो चरणको ठेक्काअन्तर्गत विद्युत् गृह ९पावरहाउस० निर्माणको कार्यको तयारी पनि शुरु गरिएको छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो । दोस्रो चरणमा छ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृह लगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमि २१० मिटर लामो सुरुङमार्फत सोही नगरको वडा नं ११ हात्तीखालस्थित बबईमा भेरीको पानी खसालिनेछ । जहाँ नेपाल सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।

सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’का रुपमा परिभाषित गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi