neapl investment mega bank
  • गृहपृष्ठ
  • युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह: राप्रपा अध्यक्षा राणा

युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह: राप्रपा अध्यक्षा राणा

May 1st, 2020

काठमाडौ, बैशाख १९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने बताएका छन् । बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ता र लुटको भूलभूलैयामा लागीरहे भयावह स्थिति सिर्जना हुने उनले बताए ।

‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ । यसर्थ कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नु पर्दछ,’ उनले शुक्रबार भने । ‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ । किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन् ।

१३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना दिने क्रममा राप्रपा अध्यक्ष राणाले यस्तो धारणा सार्वजनिक गर्दै सरकारलाई सजग गराएका हुन् ।

शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हकहित, सुरक्षा र सफलताका लागि उनले ऐक्यवद्धता जाहेर गरेका छन् । ‘महामारीको कठिन घडीमा मानव समाजमाथि चुनौति ठूलो छ । समय कठिन छ, श्रमिकहरूको विशिष्ट समस्या एकजुट भएर निदान गर्नु परेको छ,’ शुभकामना सन्देश जारी गर्दै उनले भने । बन्दाबन्दीको समयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको भन्दै शिक्षादिक्षाको क्रम सुचारू गर्न सरकारले तदरूकताका साथ सहयोग गर्नु पर्नेमा उनले जोड दिए । विद्यार्थीका लागि अनलाइन सेवा निशुल्क गर्नु पर्ने उनको सुझाव छ ।

‘बन्दाबन्दीका कारण अनलाइन कक्षा संचालन गर्नु परेको छ । विपद्को समयमा शिक्षालाई सुचारू राख्ने नवीनतम प्रयासमा सरकारको जोडबल आवश्यक छ,’ उनले भने । ‘पढ्ने पढाउने प्रयासमा सघाउ गर्दै विद्यालय र विद्यार्थीबीच इन्टरनेटको सुविधा सुढृद र निशूल्क बनाउन आवश्यक छ । सरकारको इच्छाशक्तिकै सवाल छ,’ उनले भने ।