neapl investment mega bank

गोकर्णेश्वर मन्दिरमा निःशुल्क भोजन

Apr 30th, 2020

काठमाडौँ, १८ वैशाख (रासस)

गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्रमिक एवं विपन्न वर्गका लागि निःशुल्क भोजन शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेलाई अप्ठ्यारो भएपछि नगरपालिकाको समन्वयमा किड्स साङ्ग्रिला होम संस्थाले निःशुल्क भोजन शुरु गरेको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । निःशुल्क भोजनका लागि स्थानीय युवाले स्वयंसेवीका रूपमा खाना बनाउने र वितरणको काममा सहयोग गरिरहेका छन् ।

नगरपालिकाको वडा नं ७ दक्षिणढोकामा पनि नगरपालिकाको समन्वयमा होमले निःशुल्क भोजन शुरु भएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि दैनिकरूपमा कमाएर जीवनयापन गर्नेलाई कठिनाइ भएकाले राहतस्वरुप निःशुल्क भोजनको व्यवस्था गरिएको सो संस्थाका कार्यक्रम संयोजक दिनेश भण्डारीले बताउनुभयो । दुवै स्थानमा हाल दैनिक एक हजारभन्दा बढी मानिसले भोजन गरिरहेका छन् । भोजन गर्न आउनेलाई सामाजिक दूरी कायम गरी सुरक्षित तरिकाले प्याकेटमा वितरण गर्ने गरिएको छ ।

नगरपालिकाका अन्य सात स्थानमा यसअघि नै विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । नगर क्षेत्रमा धेरै श्रमिक वर्गका मानिस बस्ने भएकाले तिनलाई दाताको व्यवस्था गरी भोजन गर्ने प्रबन्ध गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो ।

होमले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था साङ्ग्रिला होम भिजेडडब्ल्यूको सहयोग लिइ ४० विपन्न वर्गका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा दिइरहेको छ । ती बालबालिकाका अभिभावकलाई पनि एक महिनासम्म पुग्ने गरी राहत वितरण गरिएको छ । नौ वडा रहेको नगरपालिकाका अन्य सात वडाका वडाध्यक्षको समन्वयमा एउटा वडालाई ५० बोरा चामल, सात बोरा दाल, तेल, तरकारीलगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi