neapl investment mega bank

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

Apr 29th, 2020

जलेश्वर, १७ वैशाख (रासस)

महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताउनुभयो ।

उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको मृत्यु भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो । वडाध्यक्ष थारुले चारैजनाले रक्सी पिउने गरेका र गाउँमा अत्यधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीहरुको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको हुन सक्ने आशङ्का गर्नुभयो ।

यस सन्दर्भमा महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु दुईरतीन दिनको अन्तरालमा भएको हामीले खबर पाएको तर शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न नसकिने बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीले घटनाको जानकारी प्राप्त भएलगत्तै सो गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये तीनजनालाई आफन्तले दाहसंस्कार गरिसके पनि मृतक लालबाबु सिंहको शव बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको तथा परीक्षणका लागि अस्पतालमा पठाएको बताउनुभयो ।

यसैबीच विषाक्त रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको अड्कलबाजी भइरहेकै अवस्थामा प्रहरी मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ भने स्थानीय रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi