neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सयलाई निःशुल्क खाना खुवाइँदै

लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सयलाई निःशुल्क खाना खुवाइँदै

Apr 29th, 2020

काठमाडौँ, १७ वैशाख (रासस)

गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।

विभिन्न संघसंस्थाको सहयोगमा पोको पारिएको निःशुल्क खाना वितरण गरिँदै आएको आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम सामाजिक दूरी कायम गरी कुपनमार्फत बिहान १० देखि ११ बजेसम्म र साँझ ६ देखि ७ बजेसम्म पाँचपाँच सय जनालाई निःशुल्क खाना वितरण हुँदै आएको छ । ऐतिहासिक ढुङ्गेधारा कुवा प्राङ्गणमा प्रत्येक दिन खाना वितरण हुँदै आएको छ । खाना लिन आउने सबैको शरीरको तापक्रम जाँच्ने, अनिवार्य मास्क, साबुन पानीले हात धुने र स्यानिटाइजर व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउन अवधिमा खान नपाएका वर्गलाई तोकिएको स्थान र अपांगता भएकालाई घरसम्म नै खाना पु¥याउने व्यवस्था गरिएको स्थानीय स्पोर्टस युवा क्लबका अध्यक्ष अनिल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार खाना वितरणसँगै पशुपति तथा स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदर, कुकुर तथा छाडा चौपायालाई खाद्यान्न तथा फलफूलसमेत वितरण गरिएको छ ।

लकडाउनदेखि नै सबै संस्था मिलेर नियमित सडक सफाइदेखि औषधि छर्कने तथा चोरी तथा अनावश्यक हिँडडुल रोक्न महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा दिवा तथा रात्रि गस्तीसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय स्पोर्टस स्पेशल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरुबारी डाँडागाउँ टोल सुधार समाज, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज तथा आनन्दपुर÷आरुबारी टोलबासी र अन्य सहयोगीको सहयोगमा निःशुल्क खाना वितरण हुँदै आएकोछ । गोकर्णेश्वर नगरपालिकाका अन्य वडामा समेत स्थानीयवासीको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi