neapl investment mega bank

दुःख पाएका नागरिकलाई घर फर्काइँदै

Apr 29th, 2020

सङ्खुवासभा, १७ वैशाख (रासस)

लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै सङ्केत नदेखिएपछि खान र बस्न सङ्कटमा परेका उनीहरूलाई गृह जिल्ला फर्काउन पहल गरिएको हो ।

आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार लामो समयको लकडाउनका कारण अन्य जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपनबासीको लगत सङ्कलन भइरहेको छ । जुन ठाउँमा रहेका छन् सकेसम्म उक्त ठाउँमै राहतको व्यवस्था मिलाउन आवश्यक छलफल भइरहेको समेत नगरप्रमुख राईले जानकारी दिनुभयो ।

सङ्खुवासभाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौँमा बस्दै आएका नागरिकहरुले जनजीवन दिनप्रतिदिन कष्टकर बनेको भन्दै आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका छन् । सम्बन्धित निकायसँगको समन्वयमा पूर्ण सचेतनाका साथ उनीहरुलाई घर फर्काउन पहल शुरु गरिएको काँग्रेस नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी नागरिकलाई तीन दिन अघि गाडी रिजर्भ गरेर राज्यमन्त्रीकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएकोसमेत नगरप्रमुख राईले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi