काठमाडौ, बैशाख १६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् । राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकूल पटक्कै नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।
‘राष्ट्रपतिले प्रदर्शन गर्दै आउनु भएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पूर्नपुष्टी भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,’ राप्रपा अध्यक्ष राणाले मंगलबार भने । नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरेको छ, तदनुरूप आचरणको अपेक्षासमेत राखेको छ,’ उनले भने । ‘तर, राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको छैन ।’
महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आम जनताको चासो नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको भन्दै आपत्ति जनाए । राणाले ट्वीट गर्दै भने, ‘सत्तासंघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र उर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटार वरिपरि घुमीरहेको छ । राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाई अभिभावकविहीन बनेको छ । महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय भएको छ ।’